" /> लिगलिगकोट एक चिनारी – News of Global

News of Global बिहिबार, बैशाख १६, २०७८

सुमन पण्डित

परिचयः
ऐतिहासिक पूरातात्विक, पर्यटकिय तथा सास्कृतिक स्थल लिगलिगकोट हाल नेपालको गण्डकी अञ्चल, गोरखा जिल्ला, आँपपिपल गाविस, वडा नं. ४ खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि चौधसय सैतीस मिटर (४७९० फिट) उचाईमा रहेको छ । आजभन्दा ४५१ वर्ष (वि.सं. १६१६, सन् १५५९) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा हुने परम्परा थियो । यहाँ राजा हुने प्रक्रिया विश्वकै नौलो र ऐतिहासिक थियो । यसलाई विश्वको पहिलो नमुना लोकतान्त्रिक शासन व्यवस्थाका रूपमा लिन सकिन्छ । यस्तो ऐतिहासिक शासन व्यवस्था द्रव्य शाहको उदय पश्चात अन्त भएको पाईन्छ ।
लिगलिग शब्दको उत्पति र अर्थः
लिगलिग शब्दको उत्पति कसरी भयो भन्ने बारेमा आधिकारीक यथार्थ सत्य तथ्य कुरा अध्ययन अनुसन्धान गर्न केही बाँकी नै भएता पनि विद्धान, बुद्धिजीवि, इतिहासविद्हरू र स्थानीय बुढापाकाहरूबाट विभिन्न विचार तथा तर्कहरू आएका छन् । मगरभाषामा सफा, छ्याङ्ग, कञ्चन, प्राकृतिक दृष्य देखिनुलाई लिङलिङ भनिन्छ । हालको लिगलिग तथा गोरखा जिल्ला पहिले मगर राज्यभित्र पर्दथ्यो । बढी चलनचल्तिको भाषा मगर भाषा नै थियो । अहिले पनि विभिन्न ठाउँ तथा नदीको नाम मगर भाषामा उल्लेख गरेको पाइन्छ । जस्तैः बुङ्कोट, फिनाम, दरौदी, मस्र्याङ्गदी, भुसुण्डी आदि । पछि खस राजाहरूले गोरखा राज्य लिएपछि खस भाषा बढी प्रचलनमा आयो । उनीहरूले लिङलिङलाई लिगलिग भन्न थाले। यसरी मगर भाषाको लिङलिङ शब्दबाट अपभ्रंश भएर लिगलिग शब्दको उत्पति भएको पाइन्छ । त्यस्तै स्थानीय गेहेन्द्र रानाका अनुसार पहिले लिगलिगलाई लिखलिख भनिन्थ्यो, पछि त्यो लिखलिख शब्द अपभ्रंश भएर लिगलिग भएको बताउनुहुन्छ । यस शब्दको अर्थ सीमाना हो ।

लिगलिगे दौडको उत्पतिः
गोरखामा विभिन्न समयमा विभिन्न वंशका राजाहरूले राज्य गरे । राजा यक्ष मल्लको शासनपछि गोरखामा पाल्पाका राजा मुकुन्द सेनले राज्य गरे । उनी यहाँको राजा भएपछि काठमाडौँ उपत्यकामा तीन पटकसम्म हमला गरे तर सफल हुन सकेनन् । राजा मुकुन्द सेनको वि. सं. १६०३ सालको अन्ततिर देहावसान भयो । उनको देहावसान पछि उनका छोराहरूले बाबुले आर्जेको विशाल राज्यलाई आफ्नो नियन्त्रणमा राख्न सकेनन् र किल्ला–किल्ला (कविला) का स्थानीय प्रशासकहरू नै राजा हुन थाले जस्तैः माझकोट, सिरानचोक, अजिरकोट, वारपाक आदि । तर लिग लिगमा भने इच्छुक सबै सहभागी हुन पाउने गरी दुई कोषको दौड प्रतियोगिता गर्ने, सो दौड सातसय लिगलिग राज्य अन्तर्गत चेपेघाट देखि लिगलिगकोटको माथिल्लो दरवारसम्म दौडेर प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा बनाउने भन्ने तर्क अनुसार राजा छान्ने निर्णय भयो । लिगलिगे दौड प्रतियोगिता वि. सं. १६०४ को आश्विन शुक्ल विजया दशमीको दिन हुने सहमती गरे । प्रथम लिगलिगे दौड प्रतियोगितामा १९÷२० वर्षका दलसुर घलेमगरले जितेका थिए । उनले वि. सं. १६०४ देखि १६१५ सम्म लगातार लिगलिग राज्यको राजा भई राज्य गरेका थिए ।

लिगलिगे दौड सुरु गर्ने स्थानः
लिगलिगे दौड प्रतियोगिता कहाँबाट सुरु हुन्थ्यो भन्ने विषय कौतुहलताको विषय हुनसक्छ ।
१. इतिहासकार दिनेशराज पन्तः– “गोरखाको इतिहास” भाग १ पेज नं. ४९ मा चोरकाटेदेखि लिगलिगसम्म दौडदा जो पहिला हुन्थ्यो उही एक वर्षकोलागि राजा हुन्थ्ये भनि लेखिएको छ ।
२. लेखक तथा इतिहासकार नरु थापाको “दृष्टि” ऐतिहासिक उपन्यासको पेज नं. २७ चोरकाटेको सिवालयको मन्दिर देखि लिगलिगसम्म हुने दौड प्रतियोगिता जित्ने व्यक्ति राजा हुन्थ्यो भनि लेखेका छन् ।
३. गणेश पाण्डे र गङ्गाराम रानाले लमजुङ्ग गई द्रव्य शाहलाई छोप्राक पोखरेलको घरमा ल्याई राखेका थिए । जुन समयमा लिगलिगे दौड हुने वेला भएको थियो दिनेशराज पन्त गोरखाको इतिहास भाग १ पेज नं. ४९) ।
४. चौविसे राजा रजौटाहरूको शासनकालमा गोरखाको उपल्लोकोटमा राज्य गर्ने खड्का राजाका भाइभारदार र मन्त्रीहरू लमजुङ्गका यशोव्रम्हा शाहका कान्छा छोरा राजकुमार द्रव्य शाहसँग सरसल्लाह गर्नका लागि लमजुङ्ग गए । भारदारहरूले लमजुङ्गमा द्रव्य शाहलाई भेटेर गोरखा उपल्लोकोट हान्नका लागि सर्वप्रथम लिगलिगकोट हान्नुपर्छ भन्ने बारेमा सुनियोजित षड्यन्त्र गरे ।
त्यसबेला लिगलिगकोटको राजा हुनका लागि विजय दशमीमा दौड हुने गर्दथ्यो । उक्त दौडमा जो पहिले लिगलिगकोटमा दौडेर पुग्थ्यो उहि नै एक वर्षको लागि राजा हुने चलन थियो । जस अनुसार प्राय मगरहरू राजा हुने गर्थे । सोही परम्परा अनुसार विजया दशमीको दिनको उक्त दौडको तयारीको क्रममा जुटेका मगरहरू भुसुण्डेखोलाको सिवालय मन्दिरमा भेला भई मासु, रक्सी खाई मातेर मसलमा तेल लगाई मालिस गरी रहेका अवसर छोपी खडका मगर राजाका भाई भारदारले लमजुङ्गबाट द्रव्य शाहलाई छोप्राक गाउँमा ल्याई राखी हर्मी भञ्ज्याङ्ग आँपपिपल हुँदै लिगलिगकोट गद्दिमा राखी कटुवालद्वारा उर्दी गर्न लगाई विजय भएको घोषणा गरेको किम्वदन्ती छ ।
५. भीमनिधि तिवारीको शिलान्यास नाटकमा चेपे र मस्र्याङ्दी नदिको दोभानमा भेला भई दौड छेड्ने र सो दौडमा द्रव्य शाह पनि सहभागी भएका र उनले दौड जितेकोले उनी राजा भएको भनि उल्लेख गरिएको छ । यस किसिमले दौडको बाटो विषयमा विरोधाभाष देखिएको साथै लिग लिगे दौड सुरुहुने स्थानको बारेमा हाल सम्म कुनै आधिकारीक प्रमाण फेला नपरेको कारण आधिकारीक प्रमाणले पुष्टि नभए सम्मका लागि परापूर्वकालदेखि चलिआएको सांस्कृतिक पक्ष (फुलपाती लिने जाने स्थान) लाई सबभन्दा पछिल्लो प्रमाणका रुपमा आधार मान्दै चेपे र मस्र्याङदीको दोभान चेपेघाटबाट दौड सुरु गरिने व्यवस्था मिलाइएको छ ।

स्थान परिचयः
लिगलिगकोटलाई सातसय लिगलिग पनि भन्ने गरिन्थ्यो । यसको अर्थ त्यसबेला लिगलिगकोट अन्तर्गत सातसय घरधुरी थिए भन्ने अनुमान गरिएको छ । उक्त कुरालाई आधार मानेर पछिसम्म पनि लिगलिगलाई एउटा मौजा (प्रशासनिक इकाई) को रूपमा लिएको कुरा बाली र सेर्मा तिर्दा दिएको भरपाई (रसिद) मा मौजे लिगलिग भनी उल्लेख गरिएबाट पुष्टि हुन्छ । सातसय लिगलिगकोट अन्तर्गत आँपपिपल, हर्मी, खोप्लाङ्ग, छोप्राक र पालुङ्गटार गरी पाँच गाविस पर्दछन् ।

सभा चौतारो
भाइभारदार र जनताहरूलाई भेला गराई न्याय अन्यायको छानबिन गरी फैसला गर्ने एउटा चौतारो भएको र उक्त चौतारोलाई “सभा चौतारा” मानिएको किम्वदन्ती छ । जुन चौतारो अद्यापी आँपपिपल गाविस वडा नं. ३ बोहोरा गाउँमा पर्दछ ।

दर्खे पानी
लिगलिगकोट दरवारको दक्षिणतिर लगभग आधाघण्टाको दूरीमा एउटा कुवा छ । जसमा बाह्रै महिना पानी हुन्छ । हालसम्म पनि यो पधेरोलाई दर्खेपानी नामले नै चिनिन्छ ।

दर्खे पानी
लिगलिगकोट दरवारको दक्षिणतिर लगभग आधाघण्टाको दूरीमा एउटा कुवा छ । जसमा बाह्रै महिना पानी हुन्छ । हालसम्म पनि यो पधेरोलाई दर्खेपानी नामले नै चिनिन्छ ।

फुलपाती डाडाँ
दशैँको सप्तमी तिथिमा अर्थात फूलपातीको अघिल्लो दिनमा कन्या केटाहरू गई, चोखो बसी, पालुङ्गटारबाट काँस, पलाँस, बेलपत्र आदिजस्ता फूलपाती टिपी ल्याई जमघट गरी फूलपाती भित्र्याउने तयारी गर्ने काम यसै ठाउँमा हुने गर्दथ्यो । यसै कारण यस ठाउँलाई फूलपाती डाँडा भनिने गरिएको हो । यो स्थान दर्खेपानीको ठीक माथि पर्दछ ।

कटुवाल चौतारो
पहिले नेपालमा रेडियो, टेलिभिजन जस्ता श्रव्य–दृष्य सामग्रीको विकास हुनुभन्दा अघि जनतालाई सुसुचित गराउनु पर्दा वा केही कुराको जानकारी दिनुपर्दा वा उर्दी सुनाउँनु पर्दा कटुवालले कुनै निश्चित तोकिएको ठाउँमा गई सुनाउनु पर्दथ्यो । त्यस राज्यकालमा पनि आफ्ना जनतालाई कुनै उर्दीहरू सुनाउनु पर्दा कटुवालद्वारा एउटा चौतारोबाट सुनाउँने गर्दथे । त्यस चौतारोलाई कटुवाल चौतारो भनिन्थ्यो र अहिलेसम्म पनि प्रचलित छ ।

फुलपाती पर्सने मैदान
दशैँको सप्तमीको दिनमा फूलपातेहरूले पालुङ्गटारबाट ल्याएको फूलपातीहरू मैदान स्थित भिमसेन स्थानमा ल्याई कालिकाको मन्दिरमा उपासक (उपासे) बस्नेहरूले बाजागाजा र मालश्री गायनका साथमा पर्सेर (स्तोत्र पाठका साथमा अक्षतापाती छर्ने काम गरेर) कोट कालिका मन्दिरमा बाजागाजा कै साथमा लगि भित्र्याउने र दशमीका दिन साँझ उक्त फूलपाती शुक्र ग्रहको स्थिति हेरी उक्त ग्रहलाई छली, पूर्वमा खाल्टेपानीको पधेरो र पश्चिममा रूसेपानीको पधेरोमा बाजागाजाका साथ लगी सेलाउने चलन छ ।

पाच्यान
लिगलिगकोट गुठी
पुरानो राज्यकालदेखि नै निरन्तर रूपले चल्दै आएको एउटा लिगलिगकोट गुठी थियो, जसमा सयौं मुरी खेत, सयौँ रोपनी पाखोबारी र रै–रकम थिए । उक्त गुठीका मोहीहरूलाई रैताने लालपूर्जा वितरण गरी रैकर अर्थात आँठो सरहको बाली (तिरो) लिने र मोहीहरूबाट उचित मुआब्जा लिई सो रकम बैंकमा जम्मा गरेर सो बाट प्राप्त हुन आउने व्याज आम्दानीबाट नियमित रूपले पूजा सञ्चालन गर्ने भनिएको हो । लिगलिगकोट दरवार वरिपरी श्रीकालिका माई, भुमे, भिमसेन तथा द्रव्यदेवीको स्थान रहेका छन् । यसका साथै त्यस ठाउँमा लहरै पाँचवटा गढीहरू अवस्थित छन् , जसमध्ये सबैभन्दा माथि मूलकोट छ । जहाँ भारदारहरूको बैठक बस्ने कोठा र नियमित पूजा गर्ने कोठा प्रष्ट देख्न सकिन्छ । तर अरू कोठा भने भग्नाबसेस अवस्थामा छन् ।
लिगलिगकोट गुठी अन्तर्गत निम्न कामदारहरूको व्यवस्था गरिएको थियोः
१. पुरोहित ब्राम्हणः– बडादशैँ, चैतेदशैँ तथा अन्य समय समयमा पाठ, पूजा आदि गर्ने गराउने ।
२. पुजारीः– साँझ विहान नित्य पूजा अर्चना गर्ने ।
बानादारहरूः–
३. रासा बजाउने दमाई
४. कर्णाल बजाउने दमाई
५. नगरा बजाउने दमाई
६. सार्की नगरा मोहोर्ने
७. कामी हतियारहरूमा सान लगाउने
८. कटुवाल–मुखियाको आदेश अनुसार उर्दी लगाउने ।

उपरोक्त कामदारहरू सबैका लागि तोकिएका खान्गी (खेत) थिए । कामदारहरूको खान्गी बाहेक अक्षेता गुठी, उपासे खान्गी र उपासे बस्ताका अवधिका लागि खर्च भनि तोकिएका गुठी खेतहरू पनि थिए । नगद भेटी, ध्वजा पताका, सिन्दुर, सुपारी तथा पूजा सामग्री खरिदका लागि आवश्यक रकम लिगलिगकोट पूर्वी भेग (खोल्ली तर्फ) विजुलीथोक र पश्चिम भेग (मैवलतर्फ) पपनेथोक दुई तर्फबाट पाखो सेर्मा उठाई चलाइन्थ्यो । उपरोक्त सबै कामदारको खटनपटन, दशैँ तथा नित्य पूजाको निरिक्षण तथा रेखदेख बिजुलीथोकका मुखियाद्वारा गर्ने गरिन्थ्यो ।

बडादशैँमा घटस्थापनाका दिनदेखि विजया दशमीको दिनसम्म एकजना मगर माथिल्लोकोट दरवारमा र एकजना ठकुरी वा ब्राम्हण श्रीकालिकाको मन्दिर छेऊ उपासे बस्ने गर्दथे । षष्ठिका दिन बेलुका कटुवालका साथ दुईजना मगर, दुईजना ठकुरी पालुङ्गटार गई बेलको फेदमा पूजा गरी सप्तमीका दिनमा विहान चेपे र मस्र्याङ्गदीको दोभानमा गई स्नान गरी धोती फेरी, नाङ्गो खुकुरी हातमा लिई फूलपाती जम्मा गरी फूलपाती डाँडामा लिएर आउँछन् । उक्त फूलपातीलाई त्यही डोलीमा राखी एउटा डोली ठकुरीको जोडी र अर्को डोली मगर जोडीले बोकी भिमसेन स्थान मैदानमा आउँछन् र त्यही उपासेहरूले बाजागाजाका साथ पर्सेर माथिल्लोकोटमा ल्याई भित्र्याउछन् । नवरात्रीको पूजामा विहान तीन÷चार बजे नगरा, कर्णाल र नासा बजाइन्छ । अष्ठमीको रातमा कालारात्री गरिन्छ । नवमीका दिनमा राँगा, बोकाको बली चढाइन्छ । दशमीका दिन कोट मामलियतको मुखियाले टिका दिई विसर्जन गर्ने परम्परा छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]