काठमाडौं । साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा आइतबार एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ।

Nepal Telecome

सुन मात्रै होइन, चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९२५ रुपैयाँ पुगेको छ। अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलर आसपास छ। साढे २ महिनाअघि प्रतिऔंस १ हजार ४८४ अमेरिकी डलर आसपास थियो।