काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरिरहेको उल्लेख गरिएको छ ।

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै कांग्रेसले आफू सदैव लोकतान्त्रिक मूल्य, संविधान र मानवअधिकारको संरक्षण तथा संवद्र्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।

Nepal Telecome

विज्ञप्तिअनुसार निर्वाचन प्रचारका क्रममा केही दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम प्रयोग तथा दुरुपयोग गरिरहेको, बालबालिकालाई चुनावी कार्यक्रममा सहभागी गराइएको तथा आयोगको निर्देशन विपरीत राष्ट्रिय झण्डाको प्रयोग भइरहेको उल्लेख गरिएको छ । यसले निर्वाचनको निष्पक्षता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको कांग्रेसको भनाइ छ ।

कांग्रेसले सामाजिक सञ्जालमार्फत् मिथ्या सूचना फैलाएर जनमत प्रभावित गर्ने प्रयास पनि भइरहेको दाबी गरेको छ । यस्ता गतिविधिले निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धातर्फ धकेल्ने र मतदातामा भ्रम सिर्जना गर्ने भएकाले आयोगले तत्काल अनुगमन तथा नियन्त्रण गर्नुपर्ने माग पार्टीले राखेको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले ध्यानकर्षण पत्र बुझाउँदै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले उल्लंघनका घटनामाथि प्रभावकारी छानबिन गरी आवश्यक कारबाही गर्न आयोगसँग आग्रह गरेका छन् ।

कांग्रेसले निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसो भए मात्र निर्वाचन परिणामप्रति जनविश्वास कायम रहने उल्लेख गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय
बी.पी. स्मृति भवन, ललितपुर, नेपाल
च.नं. २१७
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौँ ।
नेपाल केन्द्रीय कार्यालय
विषय – आचार संहिता उल्लंघन सम्बन्धमा ।
फागुन १७, २०८२
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्छ । कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति प्रतिबद्ध रहेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भइरहेका छन् । यसतर्फ पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन लिखित रूपमा निम्न विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ ।
(१) राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको ।
(२) राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको ।
(३) निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको ।
(४) मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको ।
देवराज चालिसे
प्रवक्ता एवं संयोजक– केन्द्रीय प्रचार–प्रसार समिति