काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ ।

पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो दाबीमा चुकेका छन् ।
आज असार १५ गते देशभरका २२ वटा प्रयोगशालामा ७ हजार ७९१ नमुना मात्र परीक्षण भएको छ । अझ पछिल्ला केही दिनमा त दैनिक पीसीआर नमुना टेस्टको संख्या घटेर ४र५ हजार आसपासमा पुगेको थियो ।

Nepal Telecome

मन्त्री ढकाल मात्र होइन, हालै मात्र स्वास्थ्यमा गएका सचिव लक्ष्मण अर्यालले पनि पीसीआर टेस्टको दायरा बढाउने घोषणा गरेका थिए । उनी मन्त्रालयमा हाजिर हुँदा दैनिक ३÷४ हजार हाराहारीमा नमुना परीक्षण हुन्थ्यो । उनले परीक्षणको दायरा बढाउन अटोमेटेड पीसीआर मेसिन ल्याउने निर्णय गरे ।

६ असारमा स्वास्थ्यमन्त्री समेत उपस्थित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अर्यालले भनेका थिए, ‘असार १५ गतेसम्म हामी १० हजार परीक्षण कटाउने लक्ष्यमा पुग्छौं ।’

तर त्यसो भएन । किन दैनिक १० हजार पीसीआर टेस्ट गर्न सकिएन त भन्ने प्रश्नमा सचिव अर्यालले भने, ‘विज्ञ टोलीले दिएको सुझावअनुसार काम हुन सकेन ।’

उनका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बु र सैनिक अस्पताल छाउनीमा असार १५ अघि पीसीआर टेस्ट सुरु गर्ने भनिए पनि त्यसअनुसार काम भएन । ‘सेना र प्रहरीको ल्याब समयमै सञ्चालनमा आएको भए हाम्रो लक्ष्य पूरा हुन्थ्यो’ अर्यालले भने, ‘निजी ल्याबहरूमा परीक्षण सुरु नभएकाले पनि लक्ष्य भेट्न सकेनौं ।’

दुईवटा पीसीआर मेसिन खरिद गरेर ल्याउन नसक्दा पनि समस्या थपिएको सचिव अर्याल बताउँछन् । ‘यहाँकोे पनि कहिले मेसिन बिग्रने रहेछ, कहिले रि–एजेन्ट सकिने रहेछ, प्रयास गर्दागर्दै सकिएन त के गर्नु ?’ उनले भने, ‘तर अबको केही दिनमा हामी दैनिक १० हजार परीक्षण गर्ने लक्ष्यमा पुग्छौ ।ँ