बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराले विरोध प्रर्दशन गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध एमाले बाजुराले विरोध प्रर्दशन गरेको हो ।
शनिबार एमालेका जनसंगठनले विरोध गरेको थिए भने आज जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइएको हो ।
केन्द्रीय कमिटीको निर्णय अनुसार ओलीको रिहाईको माग गर्दै विरोध प्रर्दशनी गरिएको नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विकले बताए ।
नवनियुक्त सरकारले सुरुमै प्रतिशोधका आधारमा पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी तवरले प्रकाउ गरिएको भन्दै विरोध गरिएको उनले जानकारी दिए ।
गैरकानुनी रूपमा गिरफ्तार गरिएकोप्रति आपत्ती जनाउँदै वर्तमान सरकारको यो कदमले देश झन अस्थिरताको बाटोमा जाने बताइएको हो । पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रर्दशन खुलामञ्च हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभाको रुपमा परिणत भएको थियो ।
कोणसभा कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीले रास्वपा सरकारले गैरकानुनी, गैरजिम्मेवार र वदनीयत रुपमा प्रतिशोध साँधेर पक्राउ गर्नु कानुन सम्मत नभएको बताएका हुन् ।
उनले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई सरकार गठनको २४ घण्टा नबित्दै हतार–हतारमा पक्राउ गर्नु सरकाले प्रष्ट रुपमा प्रतिशोध साँधेको बुझिएको प्रष्ट पारेका हुन् ।
साथै उनले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको अध्ययनहरूले देखाएकाले सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गलत रहेको समेत बताए ।
त्यस्तै नेकपा एमाले उपाध्यक्ष जनक बोहराले सरकारको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका हुन् । तत्काल ओली र लेखकलाई पक्राउ गर्नु अत्यन्तै संवेदनशील र दूरगामी विषय रहेको टिप्पणी गरे । मौका पायौं भन्दैमा कसैले बदनियत र गैरकानुनी काम गर्न समेत नहुने उनले प्रष्ट पारे ।
सरकारले देशको सार्वभौम,लोकतन्त्र र मुल्यमान्यताको ख्याल गरि देशमा पुनः द्वन्द्व नभई शान्ति सिर्जना गर्नुपर्ने बताए । सरकारको यस्तो प्रतिशोध भावनाले देशमा थप द्वन्द्व सिर्जना भई भयावह स्थिति आउन सक्ने समेत बताएका हुन्। विरोध प्रर्दशनमा एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

