काठमाडौं । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा पत्रकारहरूको योगदानको सम्मान गर्न रोटरी प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक गोल्यानले रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनतपूर्वक पत्रकारिता गरिरहेका उत्कृष्ट पत्रकारहरूलाई प्रोत्साहन गर्दै सम्मान गर्नु रहेको बताए । उनले रोटरीले विगतदेखि नै पत्रकारहरूलाई सम्मानित गर्दै आएको उल्लेख गर्दै यो कुनै एक व्यक्तिको निर्णय नभई संस्थाका सम्पूर्ण सदस्यहरूको सामूहिक सहभागितामा प्रदान गरिने सम्मान भएको स्पष्ट पारे ।

उनले भने, ‘रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनत गरेर काम गरिरहेका उत्कृष्ट पत्रकारहरूलाई अगाडि बढाउन र सम्मान गर्न हो । रोटरीले लामो समयदेखि पत्रकारहरूलाई सम्मानित गर्दै आएको छ । रोटरी एउटा अन्तर्राष्ट्रिय संस्था हो, जहाँ प्रदान गरिने सबै सम्मान संस्थाका सम्पूर्ण सदस्यहरूको सहभागिता र सहमतिमा वितरण गरिन्छ । यो कसैको व्यक्तिगत पुरस्कार होइन ।’

Nepal Telecome

यसैगरी, उनले रोटरीले समाजसेवालाई नै आफ्नो प्रमुख उद्देश्य बनाएर काम गरिरहेको बताए । उनले विगतमा रोटरीलाई धनी व्यक्तिहरूको संस्था भन्ने धारणा रहे पनि अहिले त्यसमा परिवर्तन आएको बताए ।

उनले भने, ‘सबैले मिलेर तपाईंहरूलाई सम्मान गरेका छौं । रोटरीले समाजसेवालाई केन्द्रमा राखेर काम गरिरहेको छ । पहिले रोटरीलाई धनाढ्यहरूको संस्था भन्ने गरिन्थ्यो, तर अहिले यो समाजसेवी संस्था हो भन्ने बुझाइ स्थापित भएको छ । हामीले गर्ने सबै सेवामूलक काम रोटरीकै स्रोतबाट सञ्चालन हुन्छ ।’

रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा ७ जना सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ ।