सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।
उनले बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले सम्झिने विश्वासिलो र भरपर्दो माध्यम बन्नुपर्ने उल्लेख गरे । ‘बीमा विपत्तिको साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ,’उनले भने ।
मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच पर्याप्त नभएको उल्लेख गर्दै सेवा विस्तारमा जोड दिए । उनले गाउँ–गाउँसम्म बीमा सेवा पुर्याउन तथा नागरिकमा बीमाप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको बताए ।
जनचेतनाको अभावका कारण धेरै नागरिक अझै बीमाको पहुँचबाट बाहिर रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले बीमासम्बन्धी जनचेतना जगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘हाम्रो समाज बनिबनाउ सोचमा गएको छ । राम्रो कुरा सिक्ने र आफ्नो ठाउँ आफैं बनाउने संस्कार विकास गर्नुपर्छ,’ उनले भने।
मुख्यमन्त्री कँडेलले दुःख र संकटका बेला बीमा क्षेत्रले नागरिकको सारथी बन्नुपर्नेमा जोड दिए । आर्थिक कारोबार गर्ने संस्था तथा व्यक्तिहरू विश्वसनीय र आर्थिक रूपमा अनुशासित हुनुपर्ने उल्लेख गर्दै उनले पारदर्शी सेवा प्रवाह आवश्यक रहेको बताए ।
बीमा क्षेत्रमा देखिएको दाबी भुक्तानी प्रक्रियाको जटिलताप्रति पनि उनले ध्यानाकर्षण गराए । नागरिकले सहज र छिटो सेवा पाउनुपर्ने भन्दै उनले भुक्तानी प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे ।