ठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका थिए । सोही विषयलाई लिएर नेता शाहीले लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् ।

शाहीले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देशभरिका शुभचिन्तक र समर्थकहरुलाइ स्तब्ध र दुखित तुल्याएको बताएका छन् ।

Nepal Telecome

शाहीले भने,‘ गगन थापाजीले झापामा भाषण गर्दै क्रियाशील सदस्यता पहिला नै नवीकरण गरिसकेका तर अहिले पुनः दबाबमा अद्यावधिक नगरेका हजारौ साथीहरू कोही पनि कांग्रेस पार्टीको सदस्य नरहेको घोषणा गर्नु भएछ । अद्यावधिक नगरेका साथीहरूको नाम अब वडा अधिवेशनका क्रममा आउँदैन, सिस्टमले नै चिन्दैन । त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औं महाधिवेशनमा भाग लिन नपाउने प्रतिबन्ध लगाउनु भएछ।

अहिले पार्टीमा हालिमुहाली र चुरिफुरि भएका भन्दा अझै बढी नेपाली कांग्रेसमा योगदान गरेका, लामो समय आफ्नो उर्जा र जीवन समर्पण गरेका, रगत र पसिना बगाएका तमाम पार्टीका नेता कार्यकर्ताहरुको सदस्यता खारेज गर्नु भनेको लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास हो,’ उनले अगाडि भने,‘अहिले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा हामीले पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देसभरिका शुभचिन्तक र समर्थकहरुलाइ स्तब्ध र दुखित तुल्याएको छ ।’

‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास बन्ने होइन। आफ्नो स्वविवेक, विचार र अधिकारसहित बोल्न, लड्न र फरक विचार राख्न आउनु हाम्रो लोकतान्त्रिक अधिकार हो,’ शाहीले भने ।

पार्टीमा दबाबमा परेर सदस्यता अद्यावधिक नगरेका कारण कांग्रेस पार्टीको सदस्यता खारेजीमा पर्नु भएका, अन्यायमा परेका, पेलिएका, हेपिएका र निराश बन्नुभएका साथीहरूलाई आफूलाई फोन गर्नपनि शाहीले आग्रह गरेका छन् ।

‘राजनीतिमा यस्तो अप्ठेरो क्षण आउँछन्, जान्छन्। हामी डराउनुपर्ने, हताश हुनुपर्ने र आत्तिहाल्नु पर्ने हुँदैन। यंिहभित्र अझै पनि सम्भावनाको खोजी गर्न सकिन्छ। आउनुहोस् मिलेर अगाडि बढौं। हामी मिलेर अगाडि बढ्दा के सम्भव छैन ? नयाँ इतिहास निर्माण गर्न धैर्यता, आट, हिम्मत र साहस चाहिन्छ। तपाईं युवाहरूको भविष्यको लागि म जुनसुकै मूल्य चुकाउन तयार छु। तर अब निराश भएर अरू पार्टीमा प्रवेश गर्ने होइन, अब नयाँ ऊर्जा, थप जागरूकता र बलियो साहस बोकेर अगाडि बढौं,’ शाहीले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् ।

नेता शाहीले पार्टीका नेताहरुलाई भगवान नबनाउन र प्रश्न गर्न आग्रह समेत गरे । ‘अरूलाई अर्ती दिन सजिलो छ । पार्टीमा नेतालाइ भगवान नबनाउ, नेतालाइ प्रश्न गर । तर आफ्नो पार्टीमा आफुलाइ भगवान नमान्नेलाई कारवाहीको डन्डा चलाउने, नेतृवलाई प्रश्न गर्ने र फरक मत राख्नेलाइ अब पार्टीले नचिन्ने र सदस्यता खारेज गरिदिने धम्की दिनु अनि लोकतान्त्रिक पार्टीमा फरक विचार राख्नेलाइ भक्तजन र हनुमानबाट गालीको बर्षा ?’ उनले अगाडि भनेका छन्,‘पार्टीमा फरक मत राख्नु, फरक विचार राख्नु, आफ्नो अडान राख्नु लोकतान्त्रिक अधिकार हो। फरक मतलाई सम्मान गर्नुको साटो निषेध गर्न खोज्नु निरंकुश र अलोकतान्त्रिक चरित्र हो।’