स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतराज ढकालले राष्ट्रवाद, लोकतन्त्र र समाजवादको संरक्षण गर्दै ‘समृद्ध नेपाल, समुन्नत स्याङ्जा’ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो चुनावी अभियानलाई पनि तिब्रता दिएका छन् ।
सफल व्यवसायिक पृष्ठभूमि बनाएका ढकाल पहिलोपटक निर्वाचन मैदानमा उत्रिएका हुन् । ढकालले अनुभव, व्यवस्थापन क्षमता र स्पष्ट विकास दृष्टिकोणसहित मतदातामाझ आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै चुनावी अभियान संचालन गरिरहेका छन् ।
ढकालले प्राथमिक एजेन्डा कृषि र कृषि–उद्यममै केन्द्रित रहेको बताए । उनले किसानले उत्पादन गरेको वस्तुको मूल्य आफैं निर्धारण गर्न सक्ने व्यवस्था, आधुनिक प्रविधि, सिँचाइ, बीउ–विजन, बजारीकरण र बीमा व्यवस्था, सहकारी–निजी क्षेत्रको सहकार्यमा कृषि आधारित उद्योग स्थापना सुन्तला र कफीको व्यावसायिक विकास गर्दै स्याङ्जालाई कफी तथा फलफूलको हब बनाउने लगायतका योजनाहरु अगाडि सारेका सुनाए ।
यस्तै व्यवसायिक अनुभवका आधारमा उनले उत्पादनदेखि बजारसम्मको चक्र व्यवस्थित गर्ने लक्ष्य लिएका छन्। उनले रोजगारी र युवा सशक्तीकरणका लागि ‘एक घर, एक रोजगारी’ मार्फत सबैलाई रोजगारीको प्रत्याभूती गराउने पनि मुख्य एजेण्डा बनाएका छन् ।
यसरी रोजगारी सिर्जना गर्नका लागि स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना, कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रमा स्थायी रोजगारी, सीप विकास तालिम र निजी क्षेत्रसँग सहकार्य, स्टार्टअपका लागि सहुलियत ऋण, अनुदान र कर छुट र गाउँमै उद्योग, गाउँमै रोजगारी अभियान सञ्चालन गर्ने बताएका छन् ।
युवालाई विदेश पलायनभन्दा स्वदेशमै अवसर सिर्जना गर्ने स्पष्ट प्रतिबद्धता उनले व्यक्त गरेका छन्। स्याङ्जाको प्राकृतिक र सांस्कृतिक सम्भावनालाई उपयोग गर्ने योजनासमेत उनले अघि सारेका छन् । पर्यटन सम्भावनासँग जोडिएका क्षेत्रमा सहज पहुँच पु¥याउने, ग्रामीण पर्यटन, धार्मिक र प्राकृतिक गन्तव्यको विकास, स्थानीय उत्पादन, संस्कृति र रोजगारीसँग पर्यटन जोड्ने लगायत रहेका छन् । गुणस्तरीय, सीपमूलक र डिजिटल शिक्षा र सुलभ, प्रभावकारी, समयमै स्वास्थ्य सेवालाई समेटेर लैजाने उनको प्रण छ ।
व्यवसाय, सहकारी तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका ढकाल व्यवस्थापन क्षमता, स्पष्ट भिजन र कार्यान्वयन क्षमतामा विश्वास गर्छन्। उनी भन्छन् ‘राजनीति केवल भाषण होइन, परिणाम दिन सक्ने कार्यशैली हुनुपर्छ।’