काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी छन् ।
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महिलाको सफलताले महिलामात्र होइन, पुरुषलाई पनि प्रेरित गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी महिलालाई भविष्य भन्छौँ तर महिला वर्तमान पनि हुन् । महिला सफल हुँदा महिलामात्र प्रेरित हुन जरुरी छैन, पुरुष पनि प्रेरित हुन आवश्यक छ ।’
डंगोलले संस्थागत नेतृत्वदेखि समुदायसम्मका विभिन्न क्षेत्रमा महिलाहरू सक्रिय रूपमा नेतृत्व गर्दै अघि बढिरहेको उल्लेख गरिन् । धेरै महिलाहरूले आफैं संघर्ष गरेर बाटो बनाउँदै अघि बढेको र त्यसले अन्य महिलाहरूलाई पनि मार्गदर्शन गरेको उनको भनाइ थियो ।
‘धेरै महिलाहरू आफैंले बाटो कोरेर अघि बढ्नुभएको छ । यसरी बनाइएको बाटो आफ्ना लागि मात्रै होइन, अरूका लागि पनि उदाहरण बनेको छ,’ उनले भनिन् ।
उनले महिला सशक्तीकरणको विषयलाई नारामा मात्र सीमित राख्न नहुने पनि बताइन् । महिलाहरू आर्थिक रूपमा पनि सशक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै काठमाडौं महानगरपालिकाले त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् ।
उनले महानगरले महिलाको आर्थिक सशक्तीकरणलाई ध्यानमा राख्दै ‘एक वडा एक नमुना कार्यक्रम’ सञ्चालन गरिरहेको बताइन् ।